परिचय

सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्यहरूलाई पुरा गर्न सहयोग गर्ने र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्यअनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५/४६ (सन् १९८८) देखि स्वास्थ्य स्वयं सेवक कार्यक्रमको शुरूवात गरेको थियो । पछि सो कार्यक्रमलाई महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रमको रूपमा परिणत गरियो । आमा समूहको संलग्नतामा समुदायमा स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूमा सहयोग गर्न सरकारले तालिममार्फत् स्वयंसेवी तयार पारी कृयाशिल बनाउँदै आइरहेको छ । यी स्वयंसेवीहरूलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अर्थात् अंग्रेजीमा Female Community Health Volunteer भनिन्छ । संक्षेपमा यी स्वयसेविकाहरूलाई  एफसीएजभी (FCHV) भन्ने गरिएको छ ।

आमा समुहले छानेका, सोही वडामा स्थायी बसोबास भएका, सामान्यतया विवाहिता एवं साधारण लेखपढ गर्न जान्ने महिलाहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ठ गरेको पाठ्यक्रम अनुसार तोकिएको आधारभूत तालिम दिए पश्चात् उनीहरूले सामुदायिक स्वास्थ्य स्वयं सेविकाको दर्जा प्राप्त गर्छन् । उनीहरूले समुदायमा बसेर स्वयंसेविकाको रूपमा स्वास्थ्यसम्बन्धी तोकिएका कार्यहरू गर्दछन् । भारतको आँगनवाडी कार्यक्रम तथा श्रीलंकाको स्वयंसेवक कार्यक्रमको रुपान्तरित स्वरूपमा नेपालमा यो कार्यक्रम शुरूवात गरिएको थियो । पछि स्वास्थ्य मन्त्रालयको निर्यणअनुसार महिला स्वयं सेवकहरूलाई महिला स्वास्थ्य स्वयं सेविकाका रूपमा परिणत गरिएको थियो । शुरुवात गर्दा तराईका २७ जिल्लाबाट शुरू गरिएको यो कार्यक्रम विस्तारै देशैभर लागु गरियो । नेपालमा हाल केही जिल्लाहरूमा साविकका वडाहरूमा वडागत तथा केही जिल्लाहरूमा जनसंख्याको अधारमा (२०५० सालमा २८ वटा जिल्लाहरूमा जनसंख्याको आधारमा) गरि जम्मा ४८९४६ रहने व्यवस्था महिला सामुदायिक स्वास्थ्य स्वयं सेवक रणनीतिमा उल्लेख गरिएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयं सेवक रणनीति २०६७ को पहिलो संशोधन महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम २०७६ अनुसार जनसंख्यालाई आधार मानी तराईमा १०००, पहाडमा ६०० र हिमाली जिल्लामा १५० जनसंख्यामा एक जना रहने र स्थानीय आवश्यकताका आधारमा स्थानीय तहले थप गर्न सक्ने तर थप गरिएकाहरूको हकमा सबै सेवा सुबिधाहरू स्थानिय तहले नै गर्ने गरी व्यवस्था गरिएको छ । तथापि, साविकका नगरपालिकाहरूमा केही संख्यामा थप गरी सो भन्दा बढी संख्या करिब ५१४७० को हाराहारीमा स्वयंसेविका परिचालित रहेको विवरण विभिन्न प्रतिवेदनहरूमा उल्लेख गरिएको पाईन्छ ।

कार्यक्रमको उद्देश्य र स्वयंसेविकाका कार्यहरू

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको लक्ष्य स्वास्थ्य क्षेत्रमा संचालन गरिने कार्यक्रम तथा गतिविधिहरूमा सामुदायिक संलग्नता मार्फत राष्ट्रिय लक्ष्यहरूलाई टेवा गर्नु हो । यसअन्तर्गत महिला सशक्तिकरणका लागि ज्ञान र सीपहरू प्रदान गर्ने,  स्वास्थ्यसम्बन्धी विषयहरूमा चेतना अभिवृद्दी गर्ने र स्वास्थ्य सेवा प्रवर्धनमा स्थानीय निकायहरूको संलग्नता बढाउने जस्ता बिषयहरू पनि पर्दछ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको अन्य उद्देश्यहरूमा महिलाहरुलाई स्वास्थ्य समस्या समाधानका लागि ज्ञान र सीप प्रदान गरी सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई समुदायसँग जोड्नको लागि फोकल व्यक्तिको रूपमा स्व-प्रेरित स्वयंसेवकहरू तयार गर्ने, समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरूको लागि सामान्य स्वास्थ्य सेवाहरू प्रदान गर्न स्वयंसेवकहरू तयार गर्ने, जनताको स्वास्थ्य सुधारमा समुदायको सहभागिता बढाउने, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई स्वास्थ्य क्षेत्रको उत्प्रेरकको रूपमा विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा माग सृजना गरी स्वास्थ्य सेवाको उपयोगिता बढाउनु पर्दछन् ।   

स्थानीय सरकारअन्तर्गत रहेका वडा भित्रका महिलाहरू, गर्भवती तथा सुत्केरीहरू एवं बच्चाहरूलाई दुध खुवाई रहेका महिलाहरूको ‘आमा समूह’ गठन गर्ने,  कम्तीमा महिनाको एकपटक आमा समूहको बैठक बसाली विभिन्न स्वास्थ्य समस्याहरूको बारेमा जानकारी दिने, स्वास्थ्य सेवाहरू खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषणलगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवर्धन गर्ने, सेवाग्राहीलाई परिवार नियोजनका अस्थायी साधन वितरण (कण्डम तथा पिल्स चक्की), प्राथमिक उपचार तथा प्रेषण गर्ने र स्वास्थ्य सन्देश फैलाउनुकासाथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउनु महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूका काम र कर्तव्य रहेको महिला सामुदायिक स्वास्थ्य स्वयं सेवक रणनीति २०६७ पहिलो संशोधन २०७६ मा उल्लेख गरिएको छ ।

सामान्यतया सरकारी तवरले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको पदावधि ६० बर्ष उमेरसम्म तोकिएको छ । उमेर हदलाई आधार मानिए पनि हरेक ५ बर्षमा आमा समुहले कायम रहनका लागि अनुमोदन गर्नुपर्ने गरी व्यवस्था गरिएको छ । तर व्यवहारमा यस्तो प्रकृया अपनाईएको पाईदैन । कुनै कुनै स्थानीय तहहरूमा ६० बर्ष पुगिसकेपछि पनि उनीहरूलाई निरन्तरता दिएको पाइन्छ । यसरी ६० बर्ष पुगेका वा स्वइच्छाले १० बर्ष सेवा गरी अवकाश लिन चाहने व्यक्तिहरूलाई रू २० हजार र प्रमाण पत्रका साथ बिदाई गरिन्छ । यसलाई सम्मान जनक बिदाई भनिदै आइएको छ । ५ बर्ष भन्दा बढी सेवा गरेको व्यक्तिको मृत्यस भएमा नेपाल सरकारले तोके बमोजिमको रकम निजको हक वालालाई उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । यसका साथै आफ्नो कार्यक्षेत्र बाहिर बसाईसराई गरेमा, लाभको पदमा बहाल रहेमा, आमा समूहले अवकास गर्ने निर्णय गरी म्याद नथपेमा वा मृत्यु भएमा, फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भएमा, स्वइच्छाले राजिनामा दिएमा वा लगातार ३ पटक स्वास्थ्य आमा समूहको बैठकमा अनुपस्थित भएमा पदाबधी सकिने व्यवस्था गरिएको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूका प्रोत्साहन तथा सुबिधाहरू

समुदायमा संचालन गरिने स्वास्थ्यसँग सम्बन्धित कृयाकलापहरूको सफलताका लागि सरकारले स्वयंसेविकाहरूलाई विभिन्न प्रोत्साहन तथा सुबिधाहरू प्रदान गरिरहेको छ ।

स्वयंसेविकाहरूलाई प्रोत्साहनका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत साविकका सबै गाउँ विकास समितिहरूमा रू ५० हजारका दरले अक्षय कोषको व्यवस्था गरेको थियो जसलाइ नयाँ संरचनाअनुसार मिलान गरिएको छ । त्यसैगरी हरेक बर्ष डिसेम्बर ५ तारिखका दिन महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईने गरेको छ भने  स्थानीय सरकारसँगको सहकार्यमा सार्वजनिक कार्यक्रममा प्रशंसा पत्र उपलब्ध गराउने तथा उच्च र प्रशंसायोग्य कार्य गर्नेलाई अवलोकन भ्रमणमा पठाउने प्रयाससमेत थालिएको छ । स्वयंसेविकाहरूलाई परिचयपत्र प्रदान गरी उनीहरूका लागि सरकारले पहिचान सहितको पोसाकको समेत व्यवस्था गरेको छ । साथै सुबिधाको रूपमा उनीहरूले  बैठक तथा समीक्षाहरूमा भाग लिदा तोकिए बमोजिमको यातायात खर्च, नेपाल सरकारका स्वास्थ्य संस्थाहरूबाट तोकिए बमोजिम निशुल्क स्वास्थ्य सेवा, स्वास्थ्य बिमामा आवद्द हुनेहरूका लागि आधा रकम छुट र हरेक बर्ष पोशाकका लागि नगद रकम उपलब्ध गराईन्छ ।  

यी सुबिधाहरूका साथै कुनै कुनै स्थानीय तहहरूले स्थानीय श्रोतमा बिभिन्न प्रकारका सुबिधाहरू थप गरेको पाइन्छ । उदाहरणको रूपमा बिमा वापतको आधा रकम संघीय सरकारले तिरिदिने व्यवस्था गरेकोमा पोखरा महानगरपालिकाले बाँकी आधा रकम महानगरपालिकाबाटै भुक्तानी गरिदिने व्यवस्था गरेको छ । साथै, हरेक महिना मासिक बैठकको व्यवस्था गरेको छ भने कुनै कुनै वडाहरूले वडा स्तरमा समेत उनीहरूलार्इ प्रोत्साहन हुने खालका कार्यक्रमहरू सञ्चालन गरेको देखिन्छ ।

कार्यक्रमसँग सम्बन्धित केही सोचनीय विषयहरू

महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरूले वडा स्तरमा तोकिएअनुसार रोकथाम, प्रवर्द्धन र उपचारात्मक सेवाहरूको सहजीकरणमार्फत आमा र बालबालिकाको स्वास्थ्यमा योगदान दिइरहेका छन् । महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूले स्वास्थ्य क्षेत्रमा गरेको योगदान, समुदाय र स्वास्थ्य सेवा प्रदायकका बिचमा रहेर पुलको रूपमा गरेको कार्य,  बाल तथा मातृ मृत्युदर घटाउन, बाल तथा मातृ स्वास्थ्य सुधार गर्न र समुदायमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण भुमिका खेल्दै आएका छन् । तथापि, उनीहरूको भूमिकाको सन्दर्भमा निम्न विषयहरूमा वहस हुनुपर्ने देखिन्छ ।

अनुगमन तथा मूल्यांकन : जनस्वास्थ्य प्रबर्धन गर्ने सन्दर्भमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको कुरा सरकारी तवरबाटै स्वीकार गरिएकै विषय हो । महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूले आफ्नो कार्य क्षेत्रभित्र रहेका आम वासिन्दाहरूको घरदैलोमा गएर वा कुनै बेला आफ्नो घरैमा आएका सेवाग्राहीहरूलाई स्वास्थ्यसम्बन्धी सेवा वा जानकारी दिनुकासाथै हुन सक्ने जोखिमबारे जानकारी दिने र सरकारले संचालन गर्ने राष्ट्रिय कार्यक्रमहरूमा प्रत्यक्ष खटेर सेवा प्रवाह गर्ने काम गर्दछन् । सुत्केरी, गर्भवती तथा बालबालिकाहरूका लागि पोषण अनुगमनदेखि खोप, गाउँघर केन्द्रमा सहयोग गर्नुका अलावा परिवार नियोजनका कन्डम पिल्स जस्ता साधनहरू बितरण र आवश्यकताका आधारमा सेवाग्राहीहरूलाई उपयुक्त स्थानमा प्रेषण समेत गरेर सहयोग गर्दछन् भन्ने मान्यतामा कार्यक्रम आधारित छ । नेपालभरीका स्थानीय तहहरूमा स्वयंसेवीहरूलाई प्रोत्साहन गरी रहँदा सरकारले तोकेका कार्यहरू गरे नगरेको, कुन व्यक्तिले कम काम गरेको वा नगरेको, कार्यक्षेत्र बाहिर बसेको, अन्य गतिबीधिमा समावेश भएको वा सरकारले तोके भन्दा बाहिरी गतिबीधिहरूमा संलग्न रहेको, विशेष कार्यक्रम बाहेक अन्यमा उपस्थित नहुने वा रणनीतिमा उल्लेख भए बमोजिम बाहेकका गतिबीधिहरूमा संलग्न भए नभएको लेखाजोखा सम्बन्धित स्वास्थ्य सस्थासँग नहुँदा मूल्यांकनमा वस्तुनिष्ठता हुँदैन । अनुगमन र मुल्यांकनका लागि तिनै तहका सरकारस्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अनुगमन समितिको व्यवस्था महिला सामुदायिक स्वास्थ्य स्वयं सेवक रणनीति २०६७ पहिलो संशोधन २०७६ मा गरिएता पनि सोको कार्यान्वयन सबै प्रदेश तथा स्थानीय तहहरूमा भएको छैन । यस्तो संयन्त्र सबै सरकारहरूमा गठन गरी रणनीति अनुशारका कार्यहरू हुन आवश्यक देखिन्छ ।

तथ्य र प्रमाणको आवश्यकता : नेपाल सरकारले स्वास्थ्य क्षेत्र तर्फका सहश्राब्दी लक्ष्यहरूमा उल्लेख्य प्रगति हुनुमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेवकहरूको योगदान उच्च रहेको भन्ने स्वीकारोक्ति सरकार, तथा सम्बन्धित साझेदारहरूबाट आउने गरेको छ । साथै, उनीहरूको योगदान उच्च रहेको भनेर बारम्बार संचार माध्यमहरू तथा संबोधनहरूमा सुनिने गर्छ तर उनीहरूको योगदानको लेखाजोखा हुने गरि थप तथ्यपरक बिश्लेषण एवं प्रमाणहरूहरूको उपलब्ध भएमा उनीहरूको भूमिकाबारे बस्तुपरक चित्रण गर्न सहज हुने देखिन्छ ।

 स्वयंसेवाको अन्तर्यः महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूको योगदान समाजमा सकारात्मक रूपमा ग्रहण भइरहेको छ भन्नेमा सन्देह छैन । उनीहरूको सेवा स्वयंसेवी प्रकृतिको भएकाले सरकारको उनीहरूलाई प्रदान गर्ने प्रोत्साहन र सुविधाहरू निम्नतम छन् । तथापि स्वयंसेविकाहरूलाई दिइएको जिम्मेवारी र भूमिका अनुरूप ती प्रोत्साहन र सेवा सुविधाहरू पर्याप्त नभएको गुनासो स्वयंसेविकाहरूबाट आउने गरेको पाइन्छ । उनीहरूको गुनासोलाई संवोधन गर्न कतिपय स्थानीय निकायहरूले आफै पनि पहलकदमी लिएको पाईन्छ । कतिपय अवस्थामा राजनीतिक वृतबाट हुने सम्बोधनमा उनीहरूको सेवा र सुविधालाई लिएर विभिन्न बाचाहरू पनि गर्ने गरेको पाईन्छ । तर यो कार्यक्रमको परिकल्पना नै स्वंयसेवाको भावनाबाट प्रेरित भएकाले यसलाई अन्य नियमित पारिश्रमिक प्राप्त हुने खालको जिम्मेवारीसँग तुलना गरी चित्रण गर्नु उपयुक्त हुँदैन । उनीहरूको भूमिकालाई स्वयंसेवाको अन्तर्यसँग जोडेर नै हेर्नुपर्ने हुन्छ । तथापि, स्वयंसेवाको क्रममा उनीहरूले व्यतित गर्नुपर्ने समय, सेवाभाव र समर्पणको उचित सम्मानका लागि प्रोत्साहन र सुविधाको पनि जरूरी छ । यसलाई अँझै वैज्ञानिक बनाउनु जरूरी छ ।

 बदलिदो परिवेशः वर्तमान परिवर्तित परिवेश, जनताको शैक्षिक तथा चेतनास्तरमा भएको बडोत्तरी, समुदायमा पर्याप्त मात्रामा उपलब्ध हुने शिक्षित नागरिक तथा स्वास्थ्य क्षेत्र अध्ययन गरेका जनशक्तिहरूलाई सामान्य लेखपढ गर्न सक्ने र १५ दिनको तालिम लिएका व्यक्तिहरूबाट दिईने सेवा वा परामर्श लगायतका बिषयहरू कति प्रभाबकारी छन् भन्ने छलफलका विषयहरू हुन सक्छन् । त्यसका साथै, बढ्दो शहरीकरण, आम जनतामा पुगेको सूचनाको पहुँच र वडास्तरसम्म स्वास्थ्य संस्थाहरू र सेवा विस्तार भएको सन्दर्भमा स्वयंसेविका भूमिकाहरू सीमित हुन सक्छन् । स्वास्थ्यको पहुँचको दृष्टिकोणले हेर्दा भौगोलिक, जनसाँख्यिक, शैक्षिकरूपमा असमता विद्यमान छ । यो विविधतालाइ विचार गर्दा कुनै ठाउँमा महिला स्वास्थ्य स्वंयंसेविकाको बढी औचित्य हुन सक्छ भने कही कम । अहिले स्थानीय सरकारहरूले यो पक्षलाइ विचार गरि स्वयंसेवक कार्यक्रमलाइ परिमार्जन गर्न सक्छन् ।  

निश्कर्ष

जनताको आधारभूत स्वास्थ्य सेवाबारे जानकारी दिने तथा नेपाल सरकारबाट सञ्चालन गरिने राष्ट्रिय कार्यक्रमहरूमा सहयोग तथा सन्देश सम्वाहकका रूपमा स्वयंसेवीहरूलाई परिचालन गराई आमा र बच्चाको स्वास्थ्यमा सुधार गर्नु नै महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका कार्यक्रमको प्रमुख उद्देश्य हो । यस कार्यक्रमको उद्देश्य पूर्ति गर्नका लागि कार्यक्रमको प्रभावकारितामा जोड दिनुपर्दछ । स्वयं सेविकाबाट गरिएका कार्यको वैज्ञानिक लेखाजोखा भएमा, यस कार्यक्रमलाई राजनीतिक प्रभावबाट मुक्त गर्न सकेमा स्वयंसेवीहरूको भूमिकालाइ थप प्रवर्धन गर्न सकिन्छ । यसका साथै, यस कार्यक्रमको लागत प्रभावकारिताको अध्ययन तथा मुल्याङ्कन गरि सोहि अनुसार कार्यक्रममा परिमार्जन गरिएमा स्वयंसेवी कार्यक्रम थप प्रभावकारी हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. All the fields are required!


The reCAPTCHA verification period has expired. Please reload the page.

Comments (0)

No comments found.

Other Blogs