चारैतिरको हरियाली, प्राकृतिक सुन्दरता र हरेक साँझ-विहान सल्लाको शितल हावा अनि विशाल मन भएका नुवाकोटका बासिन्दाहरूको सरल व्यवहारले नुवाकोटको बसाइलाई अझ बढी हौसला मिलेको थियो।

HERD INTERNATIONAL बाट कल आयो अन्तर्वार्ताको को लागि, र अन्तर्वार्ता सकियो पनि। Burn and Injury  को pilot project मा तपाईँ फिल्ड रिसर्चरको लागि छनौट हुनु भएको छ, त्यसैले तालिममा आउनु होला भनी स्थान र समयसहित HERD INTERNATIONAL बाट फेरि फोन आयो। त्यसपछि म एकदमै उत्साहित भएँ किनकि यो मेरो लागि बिल्कुलै पहिलो फिल्ड थियो। कस्तो हुने हो, कहाँ जानुपर्ने हो जस्ता जिज्ञासाहरू मनभित्र नाँचिरहेका नै थिएँ। ठिक समयमानै तालिम सेन्टर पुगें, सबै नयाँ अनुहारहरू देख्दा झनै बढी सोचिरहेको थिएँ कस्तो हुने हो भनेर । जब तालिम सुरु भयो र प्रोजेक्टको तथा विषयवस्तुको बारेमा जानकारी दिइयो, तब मात्र विस्तृत जानकारी पाउने मौका पाएँ । तालिम पूर्ण रुपमा सहभागितामुलक रुपले सञ्चालन भयो । सहभागीहरूलाई रिसर्चरको भूमिका, दायित्व र आचारसहिताको बारेमा विस्तृत जानकारी दिदैं Burn and Injury  के हो भन्ने बारे छलफल गरियो जुन हामी रिसर्चरको लागि नितान्त महत्वपूर्ण थियो। क्रमश: रुपले तालिमको चौथो दिन समूह विभाजन भयो।

म समूह “बि” मा थिएँ अरु तीन जना साथीहरूको साथमा। हामीलाई नुवाकोटको सातवटा क्लस्टर हेर्नुपर्ने भयो। रिसर्च मंसिर १५ गते देखि  पुष ९ गते सम्मका लागि तय भयो। मन भारी भयो, यति धेरै दिन घरपरिवार छाडेर कसरि बसुँ? जानु त छदैंछ भनेर आफ्नो मन बलियो पारें। सबै तयारी गरेर मंसिर १५ गतेको लागि १४ गते नै logistic  लिएर फर्कें । अनेक कल्पनाका कारण राती अबेरसम्म निदाउन सकिनँ । मन जति उत्साहित थियो, त्यति नै बढी सोचिरहेको पनि थियो। चिसोमा गाउँमा बस्ने ठाउँ पाउने हो कि होइन, खानपिन अनि सुत्ने व्यवस्था कस्तो हुने हो यस्तै यस्तै सोचिरहेको थिएँ।

काम गर्न त सक्छु भन्ने पहिले नै आत्मविश्वास थियो। मंसिर १५ गते लगभग चार घन्टाको यात्रा पछि नुवाकोट पुगियो। विदुरको काम चारजनाको ग्रुपमा गर्यौँ, त्यसपछी २\२ जनामा छुट्टियौँ| म जेकेदाइसँग उर्लेनीतर्फ लागेँ। साँघुरो, पूरै धूलो उड्ने, कच्ची बाटो, अग्ला अग्ला पहाड र सल्लाघारीलाई पछि छाड्दै उर्लेनी पुग्यौँ।

आहा! कति सुन्दर गाउँ, ठूला ठूला चट्टान, वरिपरी अग्ला अग्ला पहाड, सबै थकाई भुलेँ मैले। क्यामेराको सदुपयोग गरिहालेँ – क्लिक क्लिक । यस्तो रमाइलो ठाउँ पुग्छु त लागेकै थिएन| बसको यात्रापछि हिँडेर गाउँ पुग्यौ। तामाङ समुदायको भूल्नै नसकिने मिठो आतिथ्यता । कान्छी दिदीको माया अनि माईला दाइको सत्कार।

बुझ्दै जाँदा त्यहाँको संस्कार अचम्मको लाग्यो। जुन बार वा क्रममा जन्म हुन्छ प्राय: मान्छेको नाम पनि त्यही अनुसार राखिने। प्रत्येक घरमा उस्तै नाम भएर हामीलाई त मान्छे चिन्नै मुस्किल पर्‍यो गरिबीले होला जाडोको मौसममा पनि बच्चाहरू कपडा नलगाई बस्ने। ६\७ वर्षका बच्चाहरूको घरको काम मज्जाले गरेको देखे । स्कूल ११- ३ सम्म मात्र लाग्यो। कस्तो अचम्म, देशको राजधानी काठमाडौंको छिमेकी जिल्लामा पनि शिक्षाको अवस्था यस्तो। ८ कक्षा भन्दा माथिको शिक्षा लिन कि त सदरमुकाम जानु पर्ने, कि त २ घण्टा हिँडेर जानुपर्ने । त्यहाँका बच्चाहरूको शैक्षिक अवस्थाले मन दुख्यो ।

भारी मन लिएर उर्लेनीबाट हल्दे कालिका पुग्यौँ बसबाट ओर्लेर ३ घन्टाको हिँडाइ पछि। हेल्थपोस्ट इन्चार्ज, हेडमास्टर, ग्रामिण स्वयम्सेविका सबैलाई भेट्यौ। तरपनि साँझ अबेर सम्म बस्नेखाने व्यबस्था हुन सकेन। अघिल्लो रातसम्म राम्रो सत्कार गर्ने उर्लेनीकी कान्छी दिदीको सम्झना आइरहयो । बल्लतल्ल बासको व्यवस्था भयो। भूकम्पले ध्वस्त गाउँ, पुनर्निर्माणको कुनै संकेत नै देखिदैन, सबैजना सरकारले दिने राहतको प्रतिक्षामा। गिरि जातीको बहुल्यता भएको ठाउँ रहेछ हल्दे कालिका । हेल्थपोस्ट र विद्यलय गाउँबाट टाढा छ, बाटो पनि त्यस्तै अप्ठ्यारो । ति बच्चाहरू जो आफ्नो भविष्य खोज्दै त्यति अप्ठ्यारो बाटो भएपनि    विद्यालय पुग्छन, तिनीहरू साँच्चिकै महान छन्। हल्देको बसाईमा खाना त जसो तसो चलेकै थियो तर खाजा खाए पनि चाउचाउ नखाए पनि चाउचाउ, फरक स्वाद बनाउनको लागि चाउचाउलाई नै चट्पट बनाएर समेत खायौँ । जे होस् रमाइलो नै भयो। खानी गाउँको पनि उकाली-ओराली, भिर-पाखा सबै गर्ने मौका पाइयो, खाजाको सट्टामा अमला र भोगटे खाँदै हिडियो । अमला फल्नका लागि नुवाकोट उचित हावापानी भएको जिल्ला हो जस्तो मलाई लाग्यो। त्यहाँका स्थानियले गर्नुभएको सत्कार अविस्मरणीय नै बन्यो। खानीगाउँमा होमस्टेकी सावित्री भाउजु र राजेन्द्र दाइको सरल र आत्मीय व्यवहारले हामीलाई घरको अत्यास महसुस हुन दिइरहेको थिएन, तर पनि घर फर्कने दिन आयो । सावित्री भाउजु र राजेन्द्र दाईसँग सम्पर्कमा रहने वाचा गर्दै छुट्टियौँ र घर आइपुग्यौँ। HERD International को de-briefing meeting भयो, field researcher हरूलाई आफ्नो अनुभवहरू बाँड्ने र अन्जानमा भएका गल्तिहरूलाई सुधार्ने मौका मिल्यो। यो अवसरका लागि HERD INTERNATIONAL धन्यवादको पात्र छ । नुवाकोटका गाउँहरू जाने, फरक जाति, समुदाय र संस्कारहरू बुझ्ने तथा जानकारी लिने मौकाको लागि साथसाथै मुख्यतः रिसर्च प्रतिको मेरो ज्ञान र ईच्छालाई अभिवृद्धि गर्नमा सहयोगका लागि पनि धन्यवाद | 

Leave a Reply

Your email address will not be published. All the fields are required!

Comments (0)

No comments found.

Other Blogs